जिल्लाको परिचय

ओखलढुंगाको संक्षिप्त परिचय

ऐतिहासिक पृष्ठभूमि
ओखलढुंगा जिल्ला नेपालको पूर्वान्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अन्चलमा पर्दछ । भूगोलको हिसाबले पहाडी जिल्ला मानिने ओखलढुंगा प्राचिन कालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्वदन्ती छ । महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा रहन गएको भन्ने भनाई पनि छ । त्यसैगरी मल्लकालीन समयमा काठमाण्डौका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले पूर्व विजय गर्दै यस ठाउँमा आई यहाँ राज्य चलाइरहेका किरातहरूलाई लखेटी लुटेको धान यहाँको ठूलो ओखल जस्तो ढुंगामा कुटी खाएकाले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ। उक्त ढुंगाको ओखल हालको ओखलढुङ्गा जिल्ला अन्तर्गत सिध्दिचरण नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित सिध्दिचरण पार्कसँगै जोसुकैले सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ ।

राजनैतिक विभाजन
तत्कालिन श्री ५ पृथ्वीनारायण शाहको एकीकरण अभियान पश्चात काजी भीमसेन थापाको प्रशासनिक बिभाजन अन्तर्गत ३२ जिल्ला मध्य पूर्व ३ नम्बरको रुपमा ओखलढुंगा¸खोटाङ र सोलुखुम्बु एउटै क्षेत्र थियो । त्यतिखेर पूर्व ३ नम्बरको सदरमुकामको रुपमा हालको ओखलढुंगा सदरमुकाम नै थियो । पछि विक्रम सम्वत् २०१८ सालमा राजा महेन्द्रले १४ अन्चल ७५ जिल्लाको विभाजन गर्ने क्रममा ओखलढुंगा जिल्ला सगरमाथा अन्चलमा रहन गएको हो । यस जिल्लाको पूर्वमा खोटाङ पश्चिममा रामेछाप उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्ला पर्दछन् । राजनीतिक रुपमा २ वटा निर्वाचन क्षेत्रमा  विभाजित यस जिल्लामा एउटा नगरपालिका र ५० वटा गाविससहित १० वटा इलाका रहेका छन् । यस जिल्लाको सदरमुकाम ओखलढुंगा बजार हालको सिध्दिचरण नगरपालिकामा पर्दछ । धेरैजसो भू-भाग सदरमुकामदेखि पश्चिमतर्फ रहेको यस जिल्लाका नागरिकले सहज रुपमा प्रशासनिक एवं अन्य सरकारी सेवा पाउन् भन्ने हेतुले जिल्लाको उत्तर-पश्चिम भेगमा पर्ने खिजीफलाटे गाविसमा इलाका प्रशासन कार्यलय तथा अन्य सरकारी कार्यालयहरु स्थापना गरिने भएको छ । कुल १०७४०० हेक्टर क्षेत्रफल ओगटेको यस जिल्लाका मुख्य बजारहरु ओखलढुंगा, रामपुर, रुम्जाटार, मानेभन्ज्याङ, खिजीफलाटे, खानीभन्ज्याङ, कोशहाट, घोराखोरी आदि हुन् ।

भौगोलिक अवस्था
समुन्द्री सतह देखि करिव ३ सय ९० मि.(जोतिर्घाट) देखि ३ हजार ६ सय २७ मि.(लाम्जेडांडा) सम्मको उचाईमा अवस्थित यस जिल्ला विश्वमानचित्रमा अक्षांश २७º८’ उत्तरदेखि २७º३२’ उत्तर र देशान्तर ८६º११’ पूर्ब उत्तरदेखि ८६º४१’ पूर्ब सम्म फैलिएको छ । डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टार,बेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।
१. बेसी क्षेत्र
ओखलढुङ्गा जिल्लाको क्षेत्रफलको १५% अर्थात १६१ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस क्षेत्रमा कम उचाईमा रहेको नदी र खोला किनारका भू-भागहरू पर्दछन। यस क्षेत्रमा मानिसहरूको मुख्य पेशा कृषि भएता पनि फलफूल खेती, तरकारी खेती, पशुपालन माछा मार्ने आदि काम पनि यस क्षेत्रका मानिसहरूले गर्दछन ।
२. मध्य पहाडी क्षेत्र
मध्य पहाडी क्षेत्रले जिल्लाको कुल क्षेत्रफलको ६५% अर्थात ६९८ वर्ग किलोमिटर क्षेत्रफल भू-भाग ओगटेको छ। सदरमुकाम ओखलढुङ्गाका साथै रुम्जाटार पनि यसै क्षेत्रमा पर्दछ। यस क्षेत्रमा धान, मकै, गहुँ, कोदो, फापर, तोरी, तरकारी, फलफूल खेती, पशुपालन आदि गरिन्छ ।
३. लेकाली क्षेत्र
जिल्ला कुल क्षेत्रफलको २०% अर्थात २१५ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस क्षेत्रमा पातलो बस्ती पाइन्छ। यहाँको अधिकांश भू-भाग भिरालो र चट्टानले भरिएको छ। यस क्षेत्रमा पातलो मकै, आलु, जौ, गहुँ, उवा, स्याउ आदिको खेती गरिनुका साथै भेडा र चौंरी पालनको कार्य समेत गरेको पाइन्छ ।
जल सम्पदा
ओखलढुंगा जिल्ला जल सम्पदामा धनि मानिन्छ । यहाँका नदीनालाहरु तथा झरनाहरु जलाबिध्युत र सिंचाईका लागि मात्र नभई पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपुर्ण मानिन्छन् ।
प्रमुख नदीनालाहरू: दूधकोशी नदी, सुनकोशी नदी, लिखू नदी, मोलुङ्गखोला, ठोटनेखोला, सिस्नेखोला, सेर्नाखोला, बाङ्गेखोला, खानीखोला, ढाँडखोला, पङ्खुखोला, लिपेखोला, साल्पूखोला, डुँडेखोला, जुंगेखोला, चोक्टीमङ्गलाखोला, अँधेरीखोला, पातालेखोला, सेप्लीखोला, खार्तेखोला आदि यहाँका प्रमुख नदीनालाहरु हुन् ।
प्रमुख झरनाहरु: पोकली झरना (१३१ मिटर), रातमाटे झरना (१११मिटर), प्रमुख रूपमा रहेका छन । अन्य झरनाहरूमा सेप्ली, ढिकुरे, सेर्ना, सेलेले, न्याउले आदि पर्दछन।

सांस्कृतिक एवं पर्यटकीय महत्व
बहुजाति, भाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको बिशेषता बोकेको ओखलढुंगा साँस्कृतिक रुपमा सम्पन्न छ। क्षेत्री, ब्राह्मण, राई, सुनुवार, तामाङ, शेर्पा, नेवार, गुरुङ, विश्वकर्मा, परियार लगायतका जातिहरु मिलेर बनेको यहाँको समाज “अनेकतामा एकता”को प्रतिक हो। दशैँ, तिहार, हिले जात्रा, लाखे जात्रा, ल्होसार, साकेला, चण्डीनाच,ढ्वाङकुमो¸नयाँ वर्ष, उधौली, उभौली, क्रिशमस आदि यहाँका मुख्य चाडपर्वहरु हुन्। वि.सं. २०६८ को जनगणनाको तथ्यांकअनुसार यस जिल्लामा ३१ हजार ७ सय ४१ घरधुरी रहेकोमा १ लाख ४७ हजार ९ सय ९७ जनसंख्या रहेको छ जसमध्य हिन्दु (८२.३%), बौद्ध (१२.५%), क्रिस्चियन (३.४%), इश्लाम (०.१%) र अन्य (१.७%) धर्मावलम्बी रहेका छन् ।
प्रमुख धार्मिक क्षेत्रहरू: यस जिल्लाको विलन्दू गाविस वडा नम्बर ९ मा रहेको ककनी (श्री चम्पादेवी)को मन्दिर, चिसङ्खु गढीमा रहेको कोटकी कालिकादेवीको मन्दिर, सल्लेरी गाविसको लगलगेमा रहेको ककनीस्थान, दियालेमा रहेको जोगेश्वर महादेव मन्दिर, मोलीको तीनकन्या देवीको मन्दिर, पोखरे गाविस वडा नम्बर १ मा रहेको पोखरा देवीको मन्दिर, दियाले गाविसमा रहेको भैरवस्थान, कुइभीर गाविस वडा नम्बर ५ मा रहेको सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, कुइभीर गाविसको ठूलीवंशीमा रहेको महादेवको मन्दिर र खोदम्पाका कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान, बर्नालू गाविस वडा नम्बर ९ मा रहेको सपनावती देवीको मन्दिर, ओखलढुङ्गा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भिमसेनस्थान, वटुक भैरव, गणेश मन्दिर¸थाक्ले र मानेभन्ज्याङ गाविसको सिमानामा रहेको किरातेश्वर झाँक्री गुफा आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्रहरू हुन ।
प्रमुख पर्यटकीय स्थलहरू: यस जिल्लाको पोकली गाविसमा रहेको पोकली झरना, थामडाँडा र लगलगेडाँडा (दृश्यावलोकनको लागि), सिध्दिचरण नगरपालिकामा पर्ने ऐतिहासिक ओखल आकारको ढुंगा (ओखलढुंगा), युगकवि सिध्दिचरण श्रेष्ठको जन्मस्थल (सिध्दिचरण पार्क), रुम्जाटार (राडीपाखी, भेडापालन, गुरुङ संस्कृति र विमानस्थलको लागि प्रसिध्द) आदि यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन् । त्यस्तै देम्बाडाँडा पनि पर्यटनको ठूलो सम्भावना बोकेको स्थल हो । पोकलीबाट देम्बा हुँदै सोलुखुम्बुको पिके डाँडा जाने पदमार्ग छ । पर्यटकहरु यो रुट भएर सगरमाथा सम्म जाने गरेका छन् ।
यसका अलावा ओखलढुंगा जिल्ला स्थलमार्ग भएर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आधारशिविर पुग्ने प्रवेशद्वार मानिन्छ । पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिध्द खोटाङको हलेशी महादेव दर्शन गर्न आउनेहरुका लागि पनि ओखलढुंगा उत्कृष्ट विश्रामस्थल बन्न सक्छ।

कला र साहित्य : ओखलढुंगा जिल्ला कला र साहित्यमा सम्पन्न जिल्ला हो । सन्त ज्ञान दिलवास र गायिका मेलवादेवी  मात्र होइन प्रसिध्द “मेरो प्यारो ओखलढुंगा” कविताका रचयिता युगकवि सिद्धिचरण श्रेष्ठ (वि.सं.१९६९-२०४९) तथा नेपालको राष्ट्रगानका रचयिता ब्याकुल माईलाको जन्मभूमि हो ओखलढुंगा ।

विकासको अवस्था
नेपालका ७५ वटा जिल्लाहरु मध्य जनसंख्याको आधारमा ५९ औं स्थानमा र क्षेत्रफलको आधारमा ६८ औं स्थानमा पर्ने ओखलढुंगा जिल्ला विकासको दृष्टिले पछाडी छ । दुर्गम पहाडी जिल्लाको रुपमा चिनिने यस जिल्ला प्राकृतिक श्रोत र साधनले सम्पन्न हुंदाहुदै पनि यसको समुचित प्रयोगमा चुकेको देखिन्छ ।
लामो समयको प्रतिक्षा पछी २०७१ साल मंसीरमा सुनकोशी पुलको निर्माण सम्पन्न भएपश्चात यस जिल्लाको राजधानीसंग सडक यातायातको सिधा पहुँच कायम भएको छ। साक्षरता प्रतिशत ५२.१ रहेको यस जिल्लामा ६ वटा क्याम्पस, २३ वटा उच्च मा.वि., ४८ वटा मा.वि. ५३ वटा नि.मा.वि. र २३० वटा प्रा.वि. छन् । ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) र रुम्जाटार अस्पताल गरि जम्मा २ वटा अस्पताल रहेको यस जिल्लामा १५ वटा स्वास्थ्य चौकी ३९ वटा उपस्वास्थ्य चौकी र २ वटा आयुर्वेदिक औसधालय रहेका छन् । नमस्ते, स्काई फोन, ए.डी.एस्.एल्. र पि. एस्.टि.एन्. संचार सेवा उपलब्ध यस जिल्लामा ३ वटा एफएम रेडियो संचालनमा रहेका छन्।साप्ताहिक तथा मासिक पत्रपत्रिका भने विभिन्न प्राविधिक कारणले नियमित प्रकाशन हुन सकेका छैनन । बिध्युत प्राधिकरण र माइक्रोहाइड्रोपावर (१० गाविसमा) द्वारा बिद्युत सेवा उपलब्ध यस जिल्लामा सोलार र अन्य नाविकरनिय उर्जाको प्रयोग बढाउंदै लगीएको छ।
ओखलढुंगाको समग्र विकासको लागि आवश्यक महत्वपूर्ण दस्तावेज जिल्ला आवधिक योजना (DPP) तयार भैसकेको छ र सोहीअनुसार विकास निर्माणका कार्यक्रमलाई अगाडी बढाउन जिल्ला विकास समितिको कार्यालय ओखलढुंगाले महत्वपूर्ण भूमिका खेलेको छ । जिल्ला आवधिक योजना (DPP)मा उल्लेख भएअनुसारको नारा यस प्रकार छ:
“कृषि, सडक, जलश्रोत, स्वास्थ्य, शिक्षा राम्रो
सुन्दर, सुशासित र समृध्द ओखलढुंगा हाम्रो “

(यो लेख www.hamrookhaldhunga.com टीमको मौलिक लेख नभएर http://ddcokhaldhunga.gov.np/ne-brief-introduction/ बाट साभार गरिएको लेख हो । यद्यपि स्थानीय तह संरचनाको अपडेट यो लेखमा छैन । यो लेखलाई विस्तारै अपडेट गर्दै जानेछौँ ।)

सर्वाधिकार सुरक्षित © 2017

error: कपी गर्न अनुमती लिनुहोला !!